भक्तपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने भएको छ। प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन्।
मन्त्री थापाका अनुसार पत्रकार स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बिमाबापतको प्रिमियम शुल्क प्रदेश सरकारले नै व्यहोर्ने छ। पाँच सदस्यीय परिवारलाई आधार मानेर पत्रकारलाई समूहगत रूपमा बिमामा आबद्ध गराइने र प्रक्रिया सरल, पारदर्शी तथा डिजिटलमैत्री बनाइने तयारी भइरहेको उनले बताए।
“पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर छौं,” मन्त्री थापाले भने, “१३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बिमामा समेट्ने गरी कार्यविधि तयारी हुँदैछ।”
उनका अनुसार, यस वर्षदेखि ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ जस्ता कार्यक्रम पनि सुरु हुनेछन्।
मन्त्री थापाले १३ प्रादेशिक अस्पताल मात्र नभई विकट क्षेत्रका बासिन्दासम्म स्वास्थ्य सेवा पुर्याउने गरी योजनाहरू अघि बढाइएको बताए। स्वास्थ्य सामग्री, औषधि र उपकरणसहित गाउँगाउँ पुगेर नागरिकलाई सरकार नजिक आएको अनुभूति दिलाउने गरी काम भइरहेको उनको भनाइ छ।




प्रतिक्रिया