काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको स्पष्ट गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार र सीमा व्यापारजस्ता कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ।
विज्ञप्तिमा नेपालले आफ्नो संविधानमा आधिकारिक नक्सा समावेश भइसकेको र सो नक्सामा महाकाली नदीपूर्वका क्षेत्रहरू नेपाली भूभागका रूपमा सुनिश्चित भइसकेको पुनः स्मरण गराइएको छ। मन्त्रालयले यसबारे भारतसँगै मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकेको जनाएको छ।
भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय नेतृत्वबीच मंगलबार भएको सहमतिमा लिपुलेक, सिप्की ला र नाथुला नाकामार्फत सीमा व्यापार पुनः खोल्ने निर्णय भएको थियो। दुई देशबीचको उक्त सहमतिपछि नेपाल सरकारले विज्ञप्ति सार्वजनिक गरेको हो।
यस्तो छ मन्त्रालयको विज्ञप्ति
नेपाली भूमी लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
१. नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।
२. नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ।
३. नेपाल-भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ ।
____
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ भदौ ४








प्रतिक्रिया