काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले कामभन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छन्। शुक्रबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको औँल्याइन्।
उनका अनुसार, कर्मचारीहरूले आफ्नो वृद्धिविकासका लागि हाजिर बस्ने तर लोकसेवाको तयारीमा बढी ध्यान दिने प्रवृत्ति देखिन्छ। उनले भनिन्, “म पनि सङ्घीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ। धेरैको सोचाइ हाजिर बस्ने र आफ्नो अन्य वृत्ति विकासमा समय खर्च गर्ने रहन्छ। खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्दा कामभन्दा बढी लोकसेवाको तयारीमा ध्यान जाने स्थिति देखियो।”
नयाँ सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार, खरिदार तहमा मात्र आन्तरिक बढुवाबाट नायब सुब्बा र सहसचिव पदमा प्रवेश पाउने व्यवस्था गरिएको छ। सहसचिवमा खुला प्रतिस्पर्धा हटाइएको छ भने शाखा अधिकृत र उपसचिवमा मात्र सीमित प्रतिशत खुला परीक्षा मार्फत पदपूर्ति हुने व्यवस्था छ।
सङ्घीय मामिला मन्त्रालयका सचिव रविलाल पन्थले भने, “खरिदार तहमा पसेकाहरू सबैलाई बढुवा गरिने व्यवस्था विधेयकमा समावेश गरिएको छ। खुला प्रतिस्पर्धाबाट नासुमा प्रवेश दिनु आवश्यक छैन।”
तर, बैठकमा सांसदहरूले कर्मचारीको वृद्धि विकास रोक्न नहुने र विभेद नहुनुपर्ने पक्षमा जोड दिएका छन्। नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले भनिन्, “कर्मचारीले पढ्छन्, काम गर्दैनन् भन्ने तर्कले तल्लो स्तरको कर्मचारीको वृद्धिलाई रोक्नु उचित होइन। कार्यालय समयमा काम गर्ने नियम बनाउनु पर्छ।”
सांसदहरूले कर्मचारीको वृद्धि विकासमा अवरोध नपुग्ने र कानुन बनाउँदा विभेद नहुनुपर्नेमा जोड दिएका छन्।








प्रतिक्रिया