काठमाडौं । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानले आइतबारदेखि काठमाडौंमा आन्दोलन सुरू गरेका छन्। माइतीघर मण्डलामा भेला भएका किसानले सरकारले प्रति क्विन्टल ७० रुपैयाँका दरले वक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका हुन्।
उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समितिको संयुक्त आयोजनामा भएको आन्दोलनमा किसानहरूले “एकतर्फी मूल्य स्वीकार छैन”, “उखु कृषक शोषण बन्द गर”, “उखु अनुदान भुक्तानी गर”, “मूल्य निर्धारणमा कृषकलाई सहभागी गर” लगायतका नारासहित प्रदर्शन गरेका थिए।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट नै विनियोजन नगरेपछि किसानहरू अघिल्लो वर्षकै अनुदान पनि नआउने हो कि भन्ने त्रासमा छन्। उनीहरूले गत वर्षको अनुदानसमेत आधा कटौती गर्ने सरकारी योजना भएको आशंका व्यक्त गरेका छन्।
कृषकहरूले सरकारले अनुदान रकम कटौती गरे उखु खेती नै संकटमा पर्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, “अनुदान नदिए अब उखु खेती गर्ने अवस्था रहँदैन।”








प्रतिक्रिया