३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेनजी प्रदर्शन : प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते 



काठमाडौँ
जेनजी पुस्ताको सोमबारको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ । साथै एउटा सञ्चारगृहको भवनमा ढुङ्गामुढा भएको महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दीपेन्द्र ढुङ्गाना, स्वतन्त्र पत्रकार शम्भु दङ्गाल र नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन्  ।
यस्तै थाहा खबर डट कमको कार्यालयमा तोडफोड भएको छ । उक्त घटनाप्रति महासङ्घले निन्दा र भत्र्सना गरेको छ । घाइते पत्रकारहरूको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
महासङ्घले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन यसअघि नै सरकारसमक्ष माग  राखेको समेत जनाएको छ । महासङ्घले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
विज्ञप्तिमा मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै दोषीलाई कारबाहीको माग गरेको छ । महासङ्घले पत्रकारसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र सबैको निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासङ्घले प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग राख्न र सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत समस्याको समाधान खोज्न आह्वान गरेको छ । यस्तै पत्रकार सम्बद्ध विभिन्न सङ्गठनले पनि सञ्चारकर्मीलाई निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।