२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाको गर्दनमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो



काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवामाथि धारिलो हतियार प्रहार भएको पार्टीले जनाएको छ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवाको गर्दनमाथि प्रहार हुँदा घाउ गहिरो भएको र १२ वटा टाँका लगाउनु परेको हो। तर, प्रहारमा कुन हतियार प्रयोग भयो भन्नेबारे अहिलेसम्म पुष्टि हुन नसकेको उनले बताए।

“डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र टाँका लगाइएको भन्नुभएको छ। तर कस्तो हतियार प्रयोग भयो भन्ने खुल्न सकेको छैन। विभिन्न भिडियोहरूमा प्रदर्शनकारीले ह्यामर र रेन्जहरू बोकेका देखिएका छन्,” विश्वकर्माले पार्टी बैठकपछि जानकारी दिए।

उनका अनुसार सभापति देउवा हाल पनि डाक्टरको निगरानीमा रहेका छन्। “बाहिर निस्कँदा भिड लाग्ने र उपचारमा बाधा पुग्ने सम्भावना भएकाले केही दिन डाक्टरको परामर्शमा नै राख्न सुझाव आएको छ,” उनले भने।

देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको स्वास्थ्यमा क्रमिक सुधार देखिए पनि देउवा अझै पूर्ण रूपमा सहज महसुस गर्न नसकेको प्रचार विभागले जनाएको छ। “सभापतिज्यु उठ्दा चक्कर लाग्ने, लामो समय कुरा गर्दा अप्ठ्यारो हुने गरेको छ,” विश्वकर्माले बताए।

कांग्रेसले सभापति देउवा र उनकी पत्नीमाथि भएको आक्रमणको घोर निन्दा गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।