२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चार मन्त्रीले लिए शपथ, संगीताको नाम काटियो



काठमाडौं । नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानुन र भूमि तथा परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

स्वास्थ्यमन्त्रीमा संगीता मिश्राको नाम सिफारिस भएको भए पनि अन्तिम समयमा उनको नाम काटिएको छ ।

शिलापत्रले आइतबार राति नै मन्त्रीका लागि पाँच जनाको नाम सिफारिस भए पनि शपथका बेला केही परिवर्तन हुनसक्ने समाचार प्रकाशन गरेको थियो । प्रधानमन्त्री कार्यालयले आइतबार सिफारिस गरिएको पत्र शीतलनिवासबाट फिर्ता मागी सोमबार चार जनाको नाम मात्रै सिफारिस गरेर दोस्रो पत्र पठाएबमोजिम मन्त्रीहरूको नियुक्ति र शपथ भएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश हुन् । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुन् भने मन्त्री खरेल पत्रकार हुन् ।

वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।

‘जेन–जी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।