१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता पठायो



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको क्षतिसम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाएको छ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अपराधको अनुसन्धान गर्न आयोगको प्रतिवेदन आवश्यक नपर्ने भएकाले उक्त जाहेरी प्रहरीमै फिर्ता पठाइएको जनाएको हो।

गत असोज २१ गते आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित ४ जनाले आयोगमा जाहेरी दिएका थिए। जाहेरीमा ओली र लेखकमाथि मानवता विरुद्धको कसुर र राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न माग गरिएको थियो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन।’

आयोगले आफ्नो कार्यक्षेत्र भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटनाको कारण पत्ता लगाउने र सुझावसहितको प्रतिवेदन पेस गर्ने मात्रै भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।