काठमाडौं । हमासले फिर्ता पठाएका चार शवमध्ये नेपाली विद्यार्थी विपिन जोशीको पहिचान
इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शवको पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र नेपाली विद्यार्थी विपिन जोशीको पहिचान पुष्टि गरिएको आइडीएफले जनाएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाल गोप्य राखिएको छ।
आइडीएफका अनुसार विपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या गरिएको अनुमान गरिएको छ। त्यस्तै, गाई इलोज अपहरणका क्रममा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको बताइएको छ।
इजरायलस्थित अपहृतहरूको परिवार प्रतिनिधि समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ,
“यो अपूरणीय पीडाको क्षण हो। तर, दुई वर्षदेखि अनिश्चितता र मानसिक यातनामा बाँचेका परिवारका लागि विपिन र गाईका शव फिर्ता आउनु केही हदसम्म राहत हो।”
समूहले हाल पनि २४ जना अपहृतहरूलाई सुरक्षित घर फर्काउनुपर्ने अडान दोहोर्याएको छ।
२०२३ अक्टोबर ७ मा गाजाबाट हमास आतंककारीहरूले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा विपिन जोशी अन्य नेपाली विद्यार्थीहरूसँग किब्बुट्ज आलुमिममा थिए। आक्रमण सुरु हुँदा उनीहरू नजिकैको आश्रयस्थल (शेल्टर) तर्फ भागेका थिए, तर आतंककारीहरूले त्यहाँ ग्रेनेड फ्याँकेका थिए।
प्रत्यक्षदर्शीका अनुसार, विपिनले एक आतंककारीलाई धकेलेर बाहिर निकाल्ने प्रयास गरेका थिए, तर त्यसक्रममा अर्को ग्रेनेड विस्फोट हुँदा उनका दुई साथी मारिए र केही घाइते भए।
त्यसपछि हमास लडाकूहरूले विपिनलाई अपहरण गरी गाजास्थित शिफा अस्पताल लगेको पुष्टि भएको थियो।
त्यो दिनकै भिडियोमा विपिनलाई आफ्नै खुट्टामा हिँडिरहेको अवस्थामा देखिएको थियो। विपिन जोशी त्यतिबेला २३ वर्षका थिए र ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेको एक महिनामात्र भएको थियो।
विपिनको शव फिर्ता भएपछि नेपाल र इजरायल दुवै देशका अधिकारीहरूले आवश्यक औपचारिक प्रक्रिया पूरा गरेर अन्तिम संस्कारका तयारी गरिरहेका छन्।








प्रतिक्रिया