२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यमपञ्चकको मुख्य दिन भाइटीका आज देशभर मनाइँदै



काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन भाइटीका आज देशभर उल्लासपूर्वक रूपमा मनाइँदैछ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आज छैटौँ दिन दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यो दिनलाई यमद्वितीया पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथि वृद्धि भएकाले यस वर्ष भाइटीका छैटौँ दिनमा परेको हो ।

धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा रहिआएको छ । दिदीबहिनीलाई पूजा गरे अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको उनले बताए ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज टीका लगाउने साइतमध्ये बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त अत्यन्त शुभ मानिएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने बताइएको छ, जसले शुभ कर्मका लागि चन्द्रमालाई सम्मुख पार्ने शास्त्रीय नियम पूरा गर्छ ।

राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आजको दिन लक्ष्मीपूजाका बेला स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी — मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम -साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि देवता र नवग्रहको पूजा आराधना गर्ने परम्परा रहिआएको छ ।

पश्चात् दिदीबहिनीहरूले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिन्छन् । भट्टराईका अनुसार शास्त्रीय दृष्टिले टीकामा पाँच रंग — रातो, सेतो, पहेँलो, हरियो र निलो — नै उल्लेख गरिएको छ ।

टीका लगाएपछि दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका परिकारहरू दिन्छन् भने दाजुभाइहरूले गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा, दक्षिणा र उपहार दिई सम्मान प्रकट गर्छन् ।

दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि आजैका दिन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर वर्षको एकपटक मात्र खुलाइन्छ । त्यहाँ पुगेर श्रद्धालुहरूले पूजा, दर्शन र टीका लगाउने प्रचलन रहिआएको छ ।

त्यस्तै, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा र टीका लगाउने परम्परा कायम छ । विसं २०३५ अघि रानीपोखरीभित्र प्रवेशमा कठिनाइ भएकाले भक्तजन खञ्जनेश्वर मन्दिरमा पुग्ने गर्थे । विसं २०३५ पछि भने हरेक वर्ष भाइटीकाको दिन बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्ने परम्परा सुरु भएको हो ।

नेवार समुदायमा किजा पूजा

भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजाका रूपमा मनाउँछन् । भक्तपुरका केही नेवार समुदायले भने यस वर्ष बुधबार नै किजा पूजा सम्पन्न गरेका छन् । भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीको निर्णयअनुसार बुधबारै पूजा गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।