काठमाडौं । नेपालमा आज (शनिबार) देखि चक्रवात ‘मोन्था’को असर अन्त्य भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अब नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र छ। यसअघि बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा गत बुधबारदेखि वर्षायाममा झैँ लगातार पानी परिरहेको थियो।
आजदेखि भने यसको असर नरहेको मौसम महाशाखाले जनाएको छ। योसँगै वर्षा हुने क्रम घटे पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। त्यसो त अहिले पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ।
महाशाखका अनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान, कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिदेखि भने वर्षा र हिमपात हुने क्रम ह्वात्तै घट्ने आकलन मौसम महाशाखाले गरेको छ। महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र हिमाल भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा/हिमपातको सम्भावना छ।









प्रतिक्रिया