२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा प्रहरीद्वारा धुवाँ फाल्ने सवारीसाधनलाई कारवाही सुरु



अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ
काठमाडौँ 
काठमाडौं उपत्यकामा नेपाल प्रहरीले धुवाँ फाल्ने सवारीसाधनलाई कारवाही सुरु गरेको छ ।
जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको सोमबार ट्राफिक प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
भने, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।”
वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । भने, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”
उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरेका छन् । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।
ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।
वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।