काठमाडौं । लमजुङको बेसीशहर–२ भकुण्डेमा पूर्वप्रहरी हवल्दार सीता कँडेलको विभत्स हत्या प्रकरणमा संलग्न ठहरिएका फरार प्रतिवादी बुद्धिराम दराई सात महिनापछि पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र रूपन्देही प्रहरीको संयुक्त टोलीले सिद्धार्थनगर–१, बेलहिया सडकखण्डबाट बिहीबार पक्राउ गरेको हो ।
स्थानीयवासीले कँडेलको घरबाट तीव्र दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरभित्र प्रवेश गरी खोजतलास गर्दा कँडेलको शव सुत्ने कोठाको बक्स पलङभित्र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो ।
घटनापछि सीआईबीको विशेष अनुसन्धान टोली लमजुङ खटिएको थियो । प्राविधिक तथा स्थलगत अनुसन्धानबाट दराई घटनामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ । दराई चितवन, रत्ननगर–६ का स्थायी बासिन्दा हुन् ।
यसअघि दराई २०६७ सालमा गोरखा जिल्लाको फिनाम–५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या प्रकरणमा पनि दोषी ठहरिएका थिए । छोरी सम्झना पाण्डेसँग विवाह गर्ने विषयमा विवाद हुँदा उनले पाण्डेको घाँटी थिचेर हत्या गरेका थिए । गोरखा जिल्ला अदालतले २०६८ असार २० गते उनलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।
सजाय भोग्ने क्रममा उनी मृतक सीता कँडेलसँग भिमफेदी कारागारमा परिचित भएका थिए । लमजुङ अदालतले जारी गरेको पक्राउ पुर्जीपछि जिल्ला अदालतले २०८२ बैशाख १५ गते दराईविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामो समयदेखि फरार रहेका उनलाई खोजी तथा निगरानीका क्रममा रूपन्देहीको बेलहियाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ ।








प्रतिक्रिया