४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वाग्मती प्रदेशद्वारा प्रमको स्वास्थ्यलाभको कामना


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

२२ फाल्गुन ०७६, हेटौडा । वाग्मती प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा सङ्ग्रौलालाई धन्यवाद दिदै स्वास्थ्यलाभको कामना गरेको हो । बैठकले मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीलाई पनि धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

बैठकले यस बाहेक कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हात नमिलाउन तथा नमस्कार गर्न प्रदेशवासीलाई अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई समेत कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको मुलुकको रुपमा जनाएपछि प्रदेश सरकारले यसका लागि प्रदेश मातहतका सबै अस्पतालमा छुट्टै उपचारकक्ष निर्माण गरिसकेको समेत जनाएको छ । प्रदेश सरकारले धेरै व्यक्ति भेला भएर गरिने कार्यक्रम नगर्नसमेत अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारका लागि आवश्यक पर्ने विभिन्न संरचना निर्माण गर्नका लागि हेटौँडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत दिने, चालू आर्थिक वर्षका लागि प्रदेश विषेश अनुदानतर्फका थप योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी सरकारले यसअघि साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानी गर्नेसम्बन्धी निर्णय खारेज गर्ने निर्णय गरेको छ । साझा यातायात सहकारी संस्थासँग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकाले सहमति खारेज गरिएको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ६ : ३७ बजे