४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना सङ्क्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालन


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

५ जेठ ०७७, काठमाडौं । कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोरोना सङ्क्रमित भई निधन भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको कोषका निर्देशक राजु रेग्मीले राससलाई जानकारी दिनुभयो । सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको छ ।

शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पिसिआर परीक्षणसमेत गर्न लागिएको उहाँले सुनाउनुभयो । कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पनि नष्ट गरिएको छ । कोरोना सङ्क्रमित भई निधन भएकाको शव जलाएपिच्छे पिपिई परिवर्तन गर्दा अभाव हुनसक्ने चुनौतीसमेत थपिएको छ ।

कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको छ । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । दुई कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्नेलगायत विषयमा कोषले सरकारसँग वार्ता गर्ने भएको छ ।

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने कर्मचारीको समेत अभाव हुन सक्ने देखिएको छ । जम्मा छ जना कर्मचारीले हाल तालीम लिएर यन्त्र चलाउँदै आएका छन् । पिसिआर परीक्षणपछि कर्मचारीलाई कोरोना पोजेटिभ देखिए अरुलाई तालीम दिन तीन महीना लाग्नेछ ।

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालीम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्नसक्ने जनाइएको छ ।

पशुपतिको क्रियापुत्री घर पनि सरसफाइका लागि तीन दिनसम्मका लागि बन्द गरिएको छ । १३ दिनसम्म क्रियापुत्री बसिकेपछि सफाइका लागि तीन बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । क्रियापुत्री एवं भेटघाटका लागि आउने आफन्तमा कोरोना सङ्क्रमण नफैलियोस् भनी यस्तो सतर्कता अपनाइएको कोषले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १२ : २२ बजे