४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गुल्मीका कोरोना संक्रमितको निधन


८ जेष्ठ २०७७, बिहिबार  

0
Shares


८ जेठ ०७७ गुल्मी । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । उहाँको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गर्नुभयो । प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहनुभएका उहाँको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो ।
यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो । बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताउनुभयो । मदानेबासीका अनुसार बन्दाबन्दी पनि धेरै हिँडडुल गरेका कारण उहाँमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उहाँ गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा जानुभएको थियो । यस्तै वैशाख २० गते धुर्कोट गाउँपालिका –७ वाग्लास्थित मानचौर तालमा घुम्न जानुभएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताउनुभयो ।
वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उहाँ पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि जानुभएको थियो । दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि जानुभएका उहाँमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्क्स्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताउनुभयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो ।
जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आउनुभएका उहाँको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको हो । उहाँको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् ।
सामाजिक विकासमन्त्रीद्वारा दुःख व्यक्त
सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा उपचाररत गुल्मी मदानेका कोरोना संक्रमितको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री बरालले आज शोक विज्ञप्ति जारी गरी अनेकौंँ प्रयास गर्दा पनि उहाँलाई बचाउन नसकिएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जति अर्पण गर्नुभएको छ । एक विद्यालयका प्रधानाध्यापक उहाँको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै मन्त्री बरालले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १ : ५८ बजे