५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरका निजी विद्यालय शिक्षक–कर्मचारी हटाउँदै


२४ असार २०७७, बुधबार  

0
Shares


२४ असार ०७७, ललितपुर । ललितपुरका केही नीजि विद्यालयहरुले लक डाउनपछि आर्थिक संकट परेको भन्दै शिक्षक तथा कर्मचारी हटाएका छन् ।
इस्टुका अध्यक्ष होमकुमार थापाका अनुसार ललितपुरको लिटल एन्जेल्सले म्यासेज गरेर ११ जना शिक्षक निकाल्न खोजेकामा संस्थापक प्रिन्सिपल तथा नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई आफूहरुले आग्रह गरेर हाललाई स्थगन गराइएको बताए ।
ललितपुरकै जेम्स स्कुलमा सातजना शिक्षक र काठमाडौँको बृहस्पति शिक्षा सदनमा १२ जना कर्मचारी हटाइएको गुनासो आएको छ । उनले संविधानको मौलिक हकमा रोजगारीको हक उल्लेख भएकाले आफूहरुको रोजगारीको हक गुम्ने स्थिति भएमा सरकारले संरक्षण गर्नुपर्ने तर्क गरे ।
काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट करीब १३० शिक्षक–कर्मचारी निष्कासनमा परिसकेको थापाले जानकारी दिए ।
कोरोना महामारी कारण आर्थिक सङ्कटको कारण देखाउँदै निजी लगानीका विद्यालयले धमाधम शिक्षक–कर्मचारी हटाउन थालेका छन् । ती विद्यालयले सरकार र सरोकार भएका पक्षसँगको समझदारी विपरीत शिक्षक–कर्मचारीलाई तोकिएको तलबसमेत नदिने र हटाउने काम थालेको गुनासो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पुगेको छ ।
नेपाल शिक्षक महासङ्घ र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सिंहदरबारमा भेटेर यसबारे गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुको चासोको जवाफमा शिक्षामन्त्री पोखरेलले यस बारेमा मन्त्रिपरिषद् र कोरोना रोकथाम तथा उपचारसम्बन्धी निर्देशक समिति (सिसिएमसी) मा प्रस्ताव लाने अवगत गराए ।
हाल मुलुकभर करीब ६ हजार ५ सय निजी लगानीका विद्यालयमा गरी झण्डै डेढ लाख शिक्षक तथा कर्मचारी कार्यरत छन् । यीमध्ये धेरै जसो निजी विद्यालयमा शिक्षक कर्मचारीले नियुक्ति पत्र, न्यूनतम् तलब र सञ्चयकोषको सुविधा पाएका छैनन् ।

मुलुकभर गत चैत ११ देखि लकडाउन र स्वास्थ्य सुरक्षाको जोखिम भएकाले शिक्षालय बन्द हुँदा अनलाइन र वैकल्पिक विधिबाट पढाइ भइरहेको छ भने यस अवधिमा पूर्ववत्रुपमा शुल्क नउठाउन सरकारले निर्देशन दिएको छ । सरकारले गत चैत महिनाको शुल्क नलिन दिएको निर्देशनलाई पनि निजी विद्यालयले उल्लङ्घन गरी नयाँ शैक्षिक सत्रको शुल्कमा समायोजन गर्ने मौखिक आश्वासन दिएका छन् । निजी विद्यालयले यो वा त्योरुपमा शुल्क उठाएर पनि आफूहरुमाथि शोषण गरेको भन्दै त्यहाँ कार्यरत शिक्षक कर्मचारीले यही असार १९ गते मुलुकका मुख्य सहरमा विरोध प्रदर्शन गरेका थिए ।
यही असार १९ गते शिक्षा मन्त्रालय, निजी विद्यालय सञ्चालक, अभिभावक महासङ्घ र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच आर्थिक सङ्कटमा परेको निजी विद्यालयलाई सरकारले सरल ऋण उपलब्ध गराउन पहल गर्ने र शिक्षक कर्मचारीलाई नहटाई विद्यालयले सुविधा दिने सहमति भएको थियो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले सो सहमति उल्लङ्घन गरेर शिक्षकहरु हटाउने र तलब नदिने कार्यले आफूहरुलाई गम्भीर बनाएकाले शिक्षामन्त्रीलाई पटकपटक ध्यानाकर्षण गराइएको बताए । उनले बाल विकास शिक्षकलगायत विद्यालय शिक्षाका अन्य मुद्दामा पनि सरकारले माग पूरा नगरेको बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निजी विद्यालयका शिक्षकले तलब नपाएको र कर्मचारी कटौती गर्न लागेको गुनासो परेको तथा अनलाइन शिक्षाको शुल्क निर्धारणमा अन्योल देखिएकाले सिसिएमसीमा निर्णयका लाग सिफारिस गरिएको जानकारी दिए । उनले कानूनतः सम्बन्धित स्थानीय तहले ती विद्यालयको अनुगमन गर्ने भए पनि हालको विशेष परिस्थितिमा सरकारले निर्णय गरी निजी विद्यालय सञ्चालकको मागअनुसार सहुलित ऋण दिनका लागि पहल भइरहेको बताए । निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विषम स्थितिमा आफूहरुलाई कुनै राहत नदिएको अवस्थामा शिक्षक र अभिभावकले यस मर्मलाई बुझ्नुपर्ने प्रतिक्रिया दिए । प्याब्सन र एन प्याब्सनले आफूहरुलाई बैंकको ऋण, किस्ता, घरभाडा र तलब दिन कठिनाइ परेको उद्योग सरहको सहुलित ऋणको व्यवस्था बजेटमै गर्न माग गरेका थिए ।
इस्टुले शिक्षामन्त्रीलाई यही असार २१ गते दिएको ज्ञापनपत्रमा सरकारको निर्देशन विपरीत निजी विद्यालयले गत चैत महिनाको शुल्क लिएर पनि शिक्षक कर्मचारीलाई तलब नदिइएको, धैरैतिर शिक्षक कर्मचारीलाई निष्कासन गरिएको अवगत गराएको थियो । वैशाखदेखिको तलब सरकारबाट दिइयोस् वा निजी विद्यालयलाई दिलाउन कडा निर्देशन दिइयोस् र निजी विद्यालयलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने बाध्यकारी व्यवस्था गरियोस् भन्ने माग पनि इस्टुले उठाउँदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : २१ बजे