५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निरन्तरको बर्षा जारी, बाढीपहिरो र ढुवानको त्रास


२६ असार २०७७, शुक्रबार  

0
Shares

गए रातिदेखि अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको र केही व्याक्ति सम्पर्कविहीन भएका छन । तस्वीर ः देवराज सुवेदी/रासस

–नारायण ढुङ्गाना
२६ असार ०७७, काठमाडौं । मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ ।
राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ । आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ ।
विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताउनुभएको छ ।
कोभिड–१९ बाट उत्पन्न सङ्कटमा मुलुक रहेका बेला पुनः विपद्जन्य सङ्कट उत्पन्न भएकाले त्यसलाई सामना गर्न र जनधनको सुरक्षा गर्नु अहिले प्रमुख चुनौती खडा भएको उनको भनाइ थियो ।
मन्त्री थापाले मुलुकभरका सबै निकायलाई हाई अलर्टमा रहनसमेत निर्देशन दिएका छन् । उनले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । “विपद्मा कमभन्दा कम क्षति होस्, जनताको जीउधनको क्षति रोक्न सकौँ, हामी सबै त्यसमा लाग्नु जरुरी छ”, उनले भने । उनले आगामी चार दिन अझै धेरै वर्षा हुने अनुमान गरिएकाले थप सचेत हुन नदी किनार आसपासका क्षेत्रका बासिन्दासँग अनुरोध गरेका छन् ।
गृहसचिव महेश्वर न्यौपानेले विपद्बाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिए ।
मौसमविद्का अनुसार विहीबारदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ । प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गरेका छन् ।
विपद्को पुर्वानुमान गरिएको पहिलो दिन विही बिहान सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । अन्य जिल्ल्लमा समेत बाढी, पहिरोका घटना भएका छन् । पानीको बहाव बढ्दो छ । वरिष्ठ मौसमविद् सुमन रेग्मीका अनुसार मनसुन सक्रिय भएर ठाउँठाउमा अहिले मध्यम पानी परिरहेको छ । अझै बढी वर्षा गराउने न्यूनचापीय रेखा भारतको विहार र उत्तरप्रदेशमा रहेकाले त्यो नेपालतर्फ आइरहेको रेग्मीले बताउए । विहीबार रातीदेखि नेपालको पूर्व तराई क्षेत्रमा न्यूनचापीय रेखा प्रवेश गरेको छ । त्यसैले रातिबाट थप वर्षा भइरहेको छ । यसरी आगामी तीन दिन भारी वर्षा हुने उनले बताए ।
बाढी पूर्वानुमान महाशाखाका प्रमुख विक्रम श्रेष्ठले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा १४३ दशमलव ४ मिलिमिटर पानी परेकाले बाढी र पहिरो आएको बताए । “कुनै ठाउँमा १०० मिलिमिटर पानी पर्नु भनेको पहिरोको उच्च जोखिम हुनु हो, त्यहाँ बढी पानी परेको थियो”, उनले भने, “अन्य क्षेत्रमा रातिदेखि पानी पर्ने भएकाले पहिरोको थप जोखिम छ ।” उहाँले यसअघि नै जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम हुने बताएका छन् । यो बीचमा ३० हजारभन्दा बढी मानिसहरुमा सतर्कताका लागि मोबाइल सन्देश पठाइसकेको जानकारी दिए ।
खानी तथा भूगर्भविभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले नेपालमा भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्काे ठाउँमा काम गर्ननसक्ने बताए । उनका अनुसार हिमालय रिजनमा नेपाल पर्ने भएकाले पहिरोको जोखिममा मुलुक रहेको बताउनुभयो । मुख्यगरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने बाँस्कोटाको भनाइ छ ।
आजको आकस्मिक बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले अहिलेसम्म भए गरेका गतिविधिका बारेमा जानकारी गराउका थिए । उहाँले यो पकट आएको ठूला घटना भेलपहिरो भएकाले यसरी विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गरे । राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ४६ बजे