५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढ्दै कोरोना सङ्क्रमण, शनिबार भेटिए ३ सय १५ सङ्क्रमित


१७ श्रावण २०७७, शनिबार  

0
Shares


१७ साउन ०७७, काठमाडौं । सरकारले बन्दाबन्दी(लकडाउन)को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । लकडाउनको अन्त्य भएपछिको ११ दिनको तुलनामा सङ्कक्रमितको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमूना परीक्षण गर्दा २.८ प्रतिशत अर्थात् एक हजार ३ सय ४५ जनामा सङ्क्रमण देखिएको थियो । लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १ सय ७४ नमूना परीक्षण गर्दा दुई हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन । सरकारले यही साउन ६ गते मध्यरातदेखि लकडाउनको अन्त्य भएको घोषणा गरेको थियो ।
पछिल्लो २४ घण्टामा नेपालमा छ हजार ९ सय ९३ नमूना परीक्षण गर्दा थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार शनिबार सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच÷पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ८६ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७२.१ अर्थात् १४ हजार ४ सय ९२ जना कोरोनामुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ को भोजपुर र सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

हालसम्म प्रदेश नं १ बाट ८ सय ५६, प्रदेश नं २ बाट तीन हजार १ सय ४९, वाग्मती प्रदेशबाट ५ सय ३२, गण्डकी प्रदेशबाट एक हजार २ सय ५६, प्रदेश नं ५ बाट तीन हजार ९ सय ७१, कर्णाली प्रदेशबाट एक हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट तीन हजार १० कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ३ सय ३८ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५ सयबढी सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् ।
सरकारले पिसीआर परीक्षणको सङ्ख्या वृद्धि गरेपछि क्वारेन्टिनमा बस्ने व्यक्तिको सङ्ख्या पनि घटेको छ । अब क्वारेन्टिनमा ११ हजार ५ सय २३ रहेका छन् । प्रदेश नं १ मा एक हजार २ सय ५४, प्रदेश नं २ मा एक हजार ५ सय ७३, वाग्मती प्रदेशमा ८ सय ५२, गण्डकी प्रदेशमा दुई हजार ९ सय ५३, प्रदेश नं ५ मा एक हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ९ सय २२ क्वारेन्टिनमा रहेका छन् ।
सरकारले समुदायमा कोरोना फैलन नदिन विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टिनमा राख्दै आएको छ । निश्चित समय क्वारेन्टिनमा बसेपछि स्वाबको नमूना परीक्षण गरेर नतिजा ‘नेगेटिभ’ आएमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै पठाउने गरेको छ । हालसम्म तीन लाख ८२ हजार ४ सय ९० नमूना आरटी–पिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक १० हजार नमूना आरटी–पिसीआर विधिबाट परीक्षण गरिएको थियो ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट हालसम्म विश्वभर एक करोड ७७ लाख ७१ हजार ३ सय ८ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये छ लाख ८३ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन् भने एक करोड ११ लाख ६७ हजार ८ सय ३९ कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : १८ बजे