५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार ३ सय ८० जनामा कोरोना सङ्क्रमण


२५ श्रावण २०७७, आइतबार  

0
Shares


२५ साउन ०७७,काठमाडौं । नेपालभर आइतबार थप ३ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५ सय १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३ सय ८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
आइतबार काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका सङ्क्रमित देखिएका छन् । काठमाडौँमा ९० र ललितपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टानमा कोरोना सङ्क्रमणमुक्त भएर ४० जना घर फर्किएका छन् । आजसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ३ सय ५३ रहेको छ । मुलुकभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८ सय ४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आइतबार थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको यही साउन २४ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनमा मधुमेहको समस्या थियो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार आज मुलुकभर छ हजार ५ सय ४४ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेशगत रूपमा प्रदेश नं १ मा ५ सय ११, प्रदेश नं २ मा तीन हजार ७५, वाग्मती प्रदेशमा एक हजार १ सय ३२, गण्डकी प्रदेशमा २ सय ३७, प्रदेश नं ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ रहेका छन् ।
पछिल्लो विवरणअनुसार विश्वभर एक करोड ९८ लाख १७ हजार ५ सय ७४ जना कोरोनाका सङ्क्रमित भएका छन् । हालसम्म सात लाख २९ हजार ७ सय ४८ जनाको मृत्यु भइसकेको छ । एक करोड २७ लाख ५० हजार ३ सय ८४ जना निको भइसकेका छन् ।
नेपालमा कोरोनाको पीसीआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ७५ रहेको छ । सङ्क्रमणबाट मुक्त हुने दर ७१ दशमलव एक रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ छन् । कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । नेपालमा कोरोनाबाट बच्न ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनअनुसार ६२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेको पाइएको छ । काठमाडौँका ३२ सार्वजनिक स्थलमा गरिएको अवलोकनमा अहिले पनि २७ प्रतिशतभन्दा बढीले मास्क राम्रोसँग लगाउँदैनन् ।
परिषद्का सदस्यसचिव प्रा डा प्रदीप ज्ञवालीले काठमाडौँका २३ सार्वजनिकस्थलमा गरिएको अध्ययनमा ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाएको पाइएको जानकारी दिएका छन् ।
अध्ययनका क्रममा व्यक्तिले मास्क लगाएको, नलगाएको वा कस्तो प्रकारको मास्क लगाएको भनी चार हजार ५ सय २ जनामा गरिएको अवलोकनमा मास्क लगाउनेको सङ्ख्या ७२ दशमलव एक र मास्क नलगाउनेको सङ्ख्या २७ दशमलव एक प्रतिशत रहेको देखिएको छ । सार्वजनिकस्थलमा जम्मा दुई हजार ७ सय ३ जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत र मास्कको बेवास्ता गरी लगाउनको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत रहेका छन् ।
काठमाडौँ उपत्यकाका २३ सार्वजनिक स्थलहरु तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो । परिषद्ले साउन ८ गते छ जनाको विज्ञ समूह गठन गरी तथ्य सङ्कलनका लागि ३९ जना अनुसन्धान टोली खटाइएको थियो । अध्ययन प्रतिवेदन आजै स्वास्थ्य मन्त्रालयमा बुझाइएको डा ज्ञवालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ०३ बजे