५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना सङ्क्रमित ३० हजार नाघे ः आज ८ सय ३८ थप


५ भाद्र २०७७, शुक्रबार  

0
Shares


काठमाडौँ, ५ भदौ ०७७ (रासस) ः नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज(शुक्रबार) ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज (शुक्रबार) थपिएकामा ५ सय ४६ पुरुष र २ सय ४२ महिला छन् । हालसम्म १८ हजार २ सय १४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा २ सय ५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
देशभर हाल १ सय ३३ सङ्क्रमितको आईसियु उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताएका छन् । हाल देशभर १२ हजार १ सय ३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २ सय ३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २ सय ५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा थपिए १ सय ८२
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १ सय ८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । थपिएका मध्ये काठमाडौँका १ सय ४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
एकै दिन ११ को मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको निधन भएको छ । एकै दिनमा निधन हुनेको सङ्ख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ३७ पुगेको छ ।

पीसीआर परीक्षणमा तीन अर्ब १९ करोड

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ । प्रवक्ता गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ । एक जना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको उनले बताए । एक जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : २३ बजे