६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा ः मन्त्री ढकाल


४ कार्तिक २०७७, मंगलबार  

0
Shares


४ कात्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।
मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोरोनाको परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँचवृद्धि गरिएको समेत जानकारी दिए । “मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोरोनाको परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ ।” उनले भने, “अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना हित प्रभावकारी व्यवस्था मिलाएको छ ।” मन्त्री ढकालका अनुसार देशभरी भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष(आइइसियु) तयारी अवस्थामा र थप ४ सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडी बढाइएको छ । यसले कोरोनाको सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उनको भनाइ छ ।
मन्त्री ढकालले कोरोनाको महामारीविरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग आभार व्यक्त गर्दै रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु रहेको स्मरण गराए ।
कसैलाई पनि विभेद नहुने
मन्त्री ढकालले तोकेका कोरोनाका अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताए । “विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ ।,” मन्त्री ढकालले भने, “यो वर्गमा नपरेका सबै कोरोनाको उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।”
उनले निशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिश आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको उल्लेख गरे ।
उनले अस्पताल नभएका ६सय ४९ स्थानीय तहमा ५ शैय्याको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको र यस कार्यले स्थानीय तहमा अस्पताल सेवका लागि ३ हजार २ सय ४५ शैय्या थपिने जनाए ।
जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० शैय्यामा स्तरोन्नति गर्दा ९ सय २२ बेड, साबिकका ११ अंचल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २ सय शैय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ शैय्या र प्रदेश स्थित ७ सङ्घीय अस्पताललाई ५ सय शैय्यामा स्तरोन्नती गर्दा १ हजार गरी जम्मा शैय्या संख्या ६ हजार २ सय २ थप गर्ने कार्य अगाडि बढेको मन्त्री ढकालले बताए ।
हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्येमा २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गराएको उहाँले जानकारी दिए । मन्त्री ढकालले कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाबाट समेत स्वास्थ्य परिक्षण र उपचारको प्रबन्ध समेत गरिएको उल्लेख गरे ।
सरकार जनताको साथमा
मन्त्री ढकालले सरकार जनताको साथमै रहेको भन्दै कोरोना को महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी रहेको औल्याए । “सबै तहका सरकार, राजनीतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झै सहयोगको अपेक्षा गरेका छौं ।”उनले भनेका छन्, “यो जोखिमको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सञ्चारको आवश्यकता पर्ने हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनामा सञ्चार क्षेत्रको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा समेत सघन सहयोगको अपेक्षा गरेको छु ।”

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ३१ बजे