६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जव नर्सले दिदी बनेर बिरामीलाई टीका लगाइदिइन्


१ मंसिर २०७७, सोमबार  

0
Shares

१ मंसिर ०७७, चितवन । बिरामी परेर अस्पताल भर्ना हुँदा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्ययामै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन ।
चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले ।
नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १ सय ५७ जना बिरामीलाई भाइटीका लगाइएको हो ।
अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरेको देवकोटाले जानकारी दिए । उनले भने “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।”

नर्सिङ अधिकृत अर्चना सेढाईको पनि भनाई उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताइन् । बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए ।
भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए । उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिए । अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताए । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ वितरण गरिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : २१ बजे