६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर


१ पुस २०७७, बुधबार  

0
Shares


१ पुस ०७७, गौशाला । गत चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर आज(बुधबार) देखि खुलेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन जारी गरेदेखि बन्द रहेको पशुपति बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ ।
भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।
दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन् । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ११ : ५२ बजे