१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी   



१४ असार ०७८, काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको  जानकारी दिइन् । यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ र चालु आव २०७७/७८ मा ३४ उजुरी परेका छन् । चालु आवमा परेका ३४ उजुरीमध्ये १७ उजुरी फैसला भइसकेको नगरपालिकाले जनाएको छ ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहेका छन् । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रूपमा छन् । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ ।

नगरपालिकामा उजुरी आउने क्रम बढेपछि टोखाले प्रत्येक वडामा ‘मेलमिलाप केन्द्र’ स्थापना गर्ने भएको छ । टोखाको बुधबार सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलमिलाप केन्द्रमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम अगाडि सारेका हुन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।