४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन   



१७ साउन ०७८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।

पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले यही साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उहाँको भनाइ छ ।

माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा क्रियाशील बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, गठबन्धनको घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई जनपक्षीय बनाउनका लागि आफनो तर्फबाट पहल गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबीन गर्न सरकारसँग माग गरेको छ । यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता श्रेष्ठले सो घटनाको सत्यतथ्य छानबीन गरी भारतीय पक्षसँग गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारवाही गर्न सरकारको ध्यानकर्षण गराइएको बताए ।

माओवादी केन्द्रले केही दिनभित्रै सरकार विस्तार हुने विश्वास व्यक्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ । आजै सरकार विस्तारका बारेमा अध्यक्ष दाहालले गठबन्धनका सबै दलसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : १६ बजे