४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्छौं : गृहमन्त्री



१८ साउन ०७८, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।      दार्चुलामा भएको घटना गम्भीर, दुखद् र सम्वेदनशील रहेको बताउँदै गृहमन्त्री खाणले भने, ‘जयसिंहसँगै यात्रामा रहेका अन्यसँग सोधपुछ्को कार्य भइरहेको, नदीमा खसेका र नभेटिएका हुनाले नेपाल–भारत दुवैका सुरक्षाकर्मीबाट खोजतलास भइरहेको छ ।’

उनले दार्चुला घटनाका सम्बन्धमा व्यक्त विचार, सूचना र धारणालाई गम्भीरतापूर्वक लिने र घटनाको सत्यतथ्य आएपछि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए । नेपालका केही नदीमा वारपार तर्नका लागि अहिले पनि तुइनको प्रयोग भइरहेको जानकारी दिँदै गृहमन्त्री खाणले महाकालीमा चार वटा तुइन विस्थापित गरी झोलुङ्गेले पुल निर्माण कार्य अघि बढिरहेको बताए ।

स्थानीय व्यास गाउँपालिकाबाट खलङ्गा जाने क्रममा यात्रालाई छोटो बनाउन धामीले तुइनको प्रयोग गरेकाे बताइएको छ । धामी महाकाली नदीमा खसेको सूचनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीबाट वास्तविक छानबिनका लागि स्थलगत अनुसन्धान गरेको थियो । महाकाली नदीमा खसेर हराइरहेका धामीको खोजीका लागि त्यस क्षेत्रका नौ र पाँच वटा प्रहरी वेशलाई परिचालन गरिएको जानकारी दिइएको छ ।

यसैबीच, नेकपा एमालेकी सांसद कोमल ओलीले दार्चुलामा भएको घटनाको भत्र्सना गर्दै सत्यतथ्य छानबिनका लागि माग गरिन् । सांसद् चक्रप्रसाद घिमिरेले दार्चुला घटनामा भारतसँग वार्ता गर्न ढिलाइ गर्न नहुने औँल्याइन् ।
सांसद् सुन्दर श्रेष्ठले सरकारले दार्चुला घटनाका बारेमा भारतीय पक्षसँग कुरा गर्न नचाहेको हो भनी प्रश्न गरे । सांसद् विमला राई पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक वर्षमा ३०० पुल बनेको भए पनि भारत सरकारको अनुमति नहुँदा महाकालीमा तुइन बिस्थापित नभएको धारणा व्यक्त गरिन् ।

सांसद् भगवती न्यौपानले दार्चुलामा युवा बेपत्ता भएको घटनामा प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बलले तुइन काटेको देखेको भन्ने खबर आएकाले सोही आधारमा घटनाको सत्यतथ्य पत्ता लगाउन कोसिस गर्नुपर्ने बताइन् ।

सांसद् तुलसाकुमारी दाहालले सिन्धुपाल्चोकका पीडितले चाँडो न्याय पाउनुपर्नेमा जोड दिइन् ।

यस्तै  गृहमन्त्री खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिए । उनले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए । उनले बाढीपहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समासमेत क्षति पुुगेको जानकारी दिए ।

गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाकोसमेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ०९ बजे