४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना



सिंहदरबारस्थित जीर्णावस्थामा रहेको पुुरानो संसद भवन । विसं २०७२ को भूकम्पपछि  भवन जीर्णावस्थामा छ । तस्बिर : रत्न श्रेष्ठ\रासस

१८ साउन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताएका छन् ।
विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताएका हुन् ।
“संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौँ”, अवलोकनपछि उनले भने, “सङ्ग्रहालयसँगै यसलाई पुस्तकालयका रुपमा समेत विकास गर्नुपर्छ ।” सङ्ग्रहालय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले यसबारे आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने बताउँदै उनले पुरानो संसद् भवनबारे विभिन्न किसिमका सुझाव प्राप्त भएको र ती सबै विषयमा छलफल गरी ठोस निर्णय गरिने उल्लेख गरे । “सम्बद्ध पक्षसँग आजैदेखि छलफल चलाउँछु, पूरै पुनःनिर्माण गर्ने की जीर्णोद्धार मात्र गर्ने भन्नेबारे चाँडै निर्णय गरिने छ”, सभामुख सापकोटाले भने ।
राजधानीको मुटुमा रहेका ऐतिहासिक भवन भएकाले त्यसको अधिकतम सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । यस अवसरमा उनलाई संसद् सचिवालयका कर्मचारीले यो भवनको अवस्थाबारे जानकारी दिएका थिए ।
दुई वर्षअघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवनलाई भत्काएर ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसयता यो भवनबारे सरकारले कुनै कदम चाल्न सकेको छैन । सभामुख सापकोटोको आजको अवलोकन भ्रमणपछि यो जीर्ण भवनबारे ठोस कदम चालिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ३० बजे