५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पूर्वी काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको विरोध



११ भदौं ०७८, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् ।
शङ्खरापुर नगरपालिका–९ का बासिन्दाले जानकारी नदिइ अपारदर्शीरुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै विरोध जनाएका हुन् ।
वडावासीले स्थानीय सरोकार र सम्पदा समिति गठन गरी तीन निकायमा विरोधपत्र बुझाएका हुन् । सरोकार समितिका अध्यक्ष धर्मराज कार्की ८५ प्रतिशतसम्म मानिस कृषिमा निर्भर भएको क्षेत्रमा कङ्क्रिटको जङ्गल बनाउन आवश्यक नभएकामा वडावासी सहमत भएको बताउनुभयो ।
आयोजना कति समयमा सक्ने ? जग्गाधनीले कति जग्गा व्यहोर्ने ? जस्ता विषय अझै पारदर्शी नभएको उहाँले सुनाउनुभयो । आयोजना प्रमुखले सरोकार समितिको पत्रसमेत दर्ता नगरेको संयोजक कार्कीको गुनासो छ ।
शङ्खरापुर नगरपालिका–९, कागेश्वरी मनोहरा नगरपालिकाको १, २, ३, ४ र गोकर्णेश्वर नगरपालिका–१, २ र ४ समेत समेटेर बनाइएको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाले स्थानीयको जग्गा रोक्कासम्बन्धी सूचना प्रकाशित गरेपछि विरोध अभियान शुरु भएको हो ।
आयोजना व्यवस्थापन उपसमितिको सदस्यसमेत रहनुभएका शङ्खरापुर–९ का वडाध्यक्ष घनश्याम थापा स्थानीयवासी विरोधमा उत्रिएपछि वडामा जग्गा एकीकरण गर्न आवश्यक छैन भनी आयोजनामा पत्राचार गरेको बताउछन् । जग्गा एकीकरण गर्दा ५२ प्रतिशतसम्म जग्गा काटिने भएपछि वडावासी आक्रोशित भएका हुन् ।
यसअघि कागेश्वरी मनोहरा नगरवासीले पनि नगरपालिका र आयोजना कार्यालयमा विरोध पत्र बुझाएका थिए । जग्गा एकीकरण आयोजनाका विषयमा गोकर्णेश्वर नगरपालिकामा पनि स्थानीयवासीले विरोध गर्दै आएका छन् । आयोजनाले कृषि योग्य जमिन समाप्त गर्नेमा नगरवासीको विरोध छ । यसले कृषिका माध्यमबाट जीवनयापन गरिरहेकालाई अप्ठ्यारो पर्ने भन्दै नगर क्षेत्रको ग्रामीण भेगका मानिस विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।