
३ असोज ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नुरहेकाे बताएका छन् । उनले भने, “यही असोज महिनाभित्र एक तिहाइ र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरिनेछ । अग्रस्थानमा खटिने राष्ट्रसेवकलगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रम नेपाल सरकारले सञ्चालन गरिरहेको छ ।”
सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नागरिकको लामो सङ्घर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको बताए । यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी समृद्धिको मार्गतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम सङ्घीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य भएको बताउँदै उहाँले यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
“सङ्घीयता कार्यान्वयनलाई समीक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी विभिन्न निकायको हस्तान्तरण गरिनेछ । साधनस्रोत र जनशक्तिको समुचित बाँडफाँट गरिनेछ । संविधानको सफल कार्यान्वयनका लागि आवश्यक कानुन बनाइने छन् । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धन संस्कृतिको विकास गर्दै राष्ट्रिय हित, सामाजिक आर्थिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध हुँदै सङ्घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेदरहित सवल एवं समृद्ध नेपालको निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता हो” प्रधानमन्त्री देउवाले भने ।
राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता स्वतन्त्र प्रेस प्रतिको प्रतिबद्धतासमेत निरन्तर रहने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको रक्षा गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउनेतर्फ सबै नेपाली अग्रसर हुने शक्ति र प्रेरणा साताँै संविधान दिवसले सबैलाई प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरे ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन् । साथै कार्यक्रममा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक निकायका प्रतिनिधि, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरु उपस्थित थिए ।
संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको हो । हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) मनाइन्छ । नेपाल सरकारले संविधान दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।







प्रतिक्रिया