११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले विधान महाधिवेशन आज सकिँदै, यस्ता छन् कार्यसूची



१७ असोज ०७८, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज समापन गरिँदैछ। शुक्रबारबाट शुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहानबाट शुरु भएको छ ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएको थियो।

१० मध्ये ५ समूहले शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन्। शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्ट प्रस्तुत गरेका हुन्।

शनिबारै दिउँसो २ बजेपछि सुरु भएको पूर्ण सत्रमा अनुशासन आयोगका तर्फबाट अमृत बोहरा, लेखापरीक्षण आयोगका तर्फबाट पुष्प कँडेल र सल्लाहकार परिषद्को तर्फबाट केशव बडालले प्रतिवेदन पेस गरेका थिए। ती तीन वटै प्रतिवेदन शुक्रबार नै प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि समय अभावका कारण शनिबार मात्रै प्रस्तुत गरिएका हुन्।

आइतबार प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ।

आजै बिहान ११ बजे पार्टी प्रवेश कार्यक्रम राखिएको छ। त्यसपछि खानाको समय हुनेछ। १ बजेपछि दस्तावेज प्रस्तुतकर्ता ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन्। ४ बजे महाधिवेशन समापन गर्ने कार्यसूची राखिएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।