५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना



२७ असोज ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज बुधबार काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उनीहरुका सुझाव ग्रहण गरेकी छिन् । महाअष्टमी पर्व विशेष रूपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ ।
राष्ट्रपति भण्डारीले अपरान्ह ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थिति देवी मन्दिरको दर्शनारम्भ गरेकी थिइन् । मन्दिरमा उपस्थित पूजारी, उनीहरुका परिवार र सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले विजयादशमी २०७८ का अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिन् ।
यस मन्दिरका पूजारी खगेन्द्र निरौलाले राष्ट्रपतिलाई नवदुर्गाको प्रसाद र टीका लगाइदिँदै मुलुकको आर्थिक विकासका लागि देशका खनिज पदार्थको उत्खनन् गर्न तथा मुलुकभित्रको अपार स्रोत साधनको सही सदुपयोग गर्न सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी निलिक महर्जनले मन्दिर परिसरस्थित ऐतिहासिक ढुंगेधाराको दुरावस्थाका बारेमा अवगत गराइएको थियो ।
राष्ट्रपति भण्डारीले सदाझैँ मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान, शोभा भगवतीलगायतका मन्दिरमा दर्शन गनरेकी थिइन् । राष्ट्रपति भण्डारीले आज बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ९ पलाञ्चोकस्थित भगवती मन्दिरमा पुगेर पूजाअर्चना गरिन् ।
धार्मिक मान्यतानुसार शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।
शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : २७ बजे