७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


म्याग्दी पहिरोः थप तीन जनाको शव भेटियो



१७ साउन ०७९, म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ ।

मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए ।

‘पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ’, वडा सदस्य पुनले भने ।

खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक, राजु विक र रोजी विकको शवसमेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए । बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए ।

पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएकी थिइन् । ‘घरका सबै निन्द्रामा भाग्दाभाग्दै पहिरोमा परे, एकैपटक आएर घर पुरियो’, घाइते अवस्थामा भेटिएकाको भनाइ उद्यृत गर्दै वडा सदस्य भक्तिबहादुर घर्तीले भने।

घाइतेको रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ । पहिरोमा परेर ज्यान गुमाउनेप्रति मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुःख व्यक्त गरे भने घाइतेको उपचार र मृतकको परिवारलाईसमेत राहत उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।