२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार




२७ असोज ०७९, काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।

‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर हलमा देखाइने विज्ञापनलगायतमा पनि मैले सहजीकरणका लागि पहल गरिरहेको छु ।’

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा यो चलचित्रलाई सुविधा प्रदान गर्ने विषयमा गहन छलफल भयो । सचिवले विज्ञापनका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले स्थानीयसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुसी छु ।’

https://www.youtube.com/@lalitkhabar

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उनका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।