२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालेनले ओलीलाई भने, ‘सुकुम्बासी प्रकरणमा कुचेष्ट नगर्नुहोला’



१३ मंसिर ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

बालेनले सुकुम्बासी प्रकरणमा ओलीको धारणा थाहा पाएको भन्दै यस्तो धारणा आउनु सामान्य विषय भएको टिप्पणी गरेका छन् । ’अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ,’ बालेनले फेसबुकमा लेखेका छन्, ’तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो ।’

उनले सरकार सञ्चालनका बेला ओलीले सुकुम्बासीका बारेमा के गरे भन्ने प्रश्न पनि उठाएका छन् । ’मन्त्री र पटक–पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन,’ बालेनले लेखेका छन्, ’सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवस ।’

अहिले परिस्थिति फेरिएको भन्दै बालेनले कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न ओलीलाई चेतावनी दिएका छन् । ’तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’ बालेनले लेखेका छन् ।

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,

अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।