२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगियो फ्लाई दुबईको जहाज



विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो

 

काठमाडौँ
११ वैशाख । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताएका छन् ।

जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ ।

उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । करिब एक घण्टा उडान स्थगित गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त जहाज अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ उडिरहेको छ । विमानस्थलको उडान पनि अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।

विमानस्थलको अवस्था अहिले सामान्य भइसकेको महाप्रबन्धक तिवारीले बताएका छन् । जहाज नेपालगञ्जबाट भारततर्फको रुट भएर २८ हजार फिटमा उडान भरेर गन्तव्यतिर गइरहेको विमानस्थलले जनाएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुबई सुरक्षितरूपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विमान सुरक्षित रहेकाले कसैलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
(रासस)

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।