२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धरान उपमहानगरका मेयर हर्कराज राईद्वारा एकता कायमका लागि धरान नगरवासीमा अपिल



इनरुवा (सुनसरी)
८ भदौ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गरेका छन् । नगर प्रमुख राईले आज एक अपिल प्रकाशित गर्दै समाजमा देखिने अशान्ति विभेद्ले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने उल्लेख गरेका छन् ।

उनले अपिलमा कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध पनि गरेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छिन् । उनका अनुसार निषेधाज्ञा आदेश शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको छ ।

उनले धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार व्यक्तिमा डेङ्गी सङ्क्रमण फैलिएकाले उपमहानगरपालिकालाई ‘जनस्वास्थ्य आपत्कालीन अवस्था’ क्षेत्र घोषणा गरिएकाले जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न अनुरोध गरेकी छिन् ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ बाट बराह क्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी इटहरी उपमहानगरपालिकाल २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यसैगरी धरान उपमहानगरपालिका ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली÷भेला गर्न रोक लगाइएको छ । प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ ।

आदेश विपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ आदेशमा उल्लेख छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।