२ असार २०८१, शनिबार | Sat Jun 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थापाथली किनारमा सुकुम्बासीको नाममा जग्गा अतिक्रमण


२२ मंसिर २०७६, आइतबार  

0
Shares

२२ मंसिर ०७६, काठमाडौं । थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ युएन स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । वाग्मती सफाइ महाअभियानको ३४३औँ हप्ताका क्रममा धेरै टहरा बनाएर नदी किनारको जग्गा अतिक्रमण गरेको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । “एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटियो, नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि रहेछन्, धेरै वटा टहराको अघितिर मोटरसाइकल, कारलगायत सवारी साधन पनि देखियो, टहरा बनाउनाका साथै नदी किनारमा तरकारी खेती, गाई, कुखुरा, हाँस, सुँगुरजस्ता चौपाया एवं पक्षीपालन गरेको पनि भेटियो”, उहाँले भन्नुभयो । सफाइका क्रममा अभियानकर्मीले तरकारीबारीमा लगाएको बार भत्काएर बालिदिएका छन् । नदी किनारको जग्गा अतिक्रमण गरी बनाएको बार भत्काएर बालेको केही समयपछि ठूलो सङ्ख्यामा आएको समूहले किन भत्काएको भनी प्रश्न गरेका थिए । सफाइका क्रममा टहरा नभत्काउन माइकिङ गरिएको सञ्चालक सदस्य खरेलले सुनाउनुभयो । नदी किनारको खाली जमीन जति अतिक्रमण गरी बसेको समूहले फोहर जति वाग्मतीमा मिसाउँदा नजीक जानै नसकिने गरी गन्हाउँछ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती यसरी प्रदूषित बन्दा पनि सरोकार भएका कुनै पनि निकायले ध्यान दिन सकेका छैनन् । थापाथली क्षेत्रमा १३ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । नदी क्षेत्र अतिक्रमण लगाइएको बारको करिब १० मेट्रिक टन दाउरा सो अवसरमा जलाइएको थियो । लामो समयदेखि सुकुम्बासीका नाममा नदी किनार अतित्रमण गरेर बस्नेलाई सरकारले हटाउन नसक्दा पनि नदी सफाइले मूर्त रुप लिन नसकेको अभियाकर्मीको भनाइ छ । सफाइमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, तीनैवटा सुरक्षा निकायका अधिकारीलगायत सफाइ अभियानकर्मीको सक्रियता थियो । उपस्थित सबैले सुकुम्बासी समस्या समाधान नगरी वाग्मती सफाइले सोचेजति सफलता हासिल गर्न नसक्नेमा सबैको एकमत रहेको जनाइएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३०५औँ हप्तामा माकालबारी सानो पुल क्षेत्रमा सफाइ गरियो । कुहिने फोहर नदी किनारमा खाडल खनी गाडियो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ । रुद्रमती सफाइको १९५औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको नदी किनारमा जमेको धुलोलगायत फोहर व्यवस्थापन गरियो । त्यस क्षेत्रमा रोपिएका बिरुवा गोडमेल गर्नुका साथै स्थानीयवासीलाई नदीमा फोहर फाल्न नदिन अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो । विष्णुमती सफाइ अभियानको १७०औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–९ सीमास्थित शिव मन्दिर क्षेत्रमा सफाइ गरियो । तीनै वटा सुरक्षा निकायका साथै स्थानीय संस्था तथा स्थानीयवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । मनोहरा सफाइको १४२औँ हप्तामा मनोहरा काठमाडौँ महानगरपालिका–३२ स्थित कृषि बजारअघिको नदी किनारमा सफाइ गरियो । एक सय ५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएका सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । चक्रपथ पश्चिम खण्ड सफाइको १२२औँ हप्तामा सोल्टी दोबाटोबाट चख्खुमार्ग्स्थित कुमारी मन्दिरसम्म सफाइ गरियो । सुरक्षा निकायसहित करिब १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । यसैगरी आज उपत्यकाको वाग्मती किनारको तिलगङ्गा, सुन्दरीघाट, चक्रपथको उत्तरी खण्डलगायत स्थानमा पनि सफाइ जारी रहेको अभियानकर्मीले जनाएका छन् । नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिका साथै सरोकार भएका सरकारी निकायले पनि दिनुपर्ने जति ध्यान नदिएको अभियानकर्मीको गुनासो छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भए पनि नदी किनार अतिक्रमण गरी बसेका नक्कली सुुकुम्वासीलाई सरकारले हटाउन सकेको छैन । यसमा अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समिति र शहरी विकास मन्त्रालयको ध्यान जान सकेको छैन । महाअभियानबाट प्रभावित भई हाल उपत्यकाका प्रमुख नदीसहित चक्रपथलगायत देशभरका १०५ स्थानमा सफाइ भइरहेको छ ।

सार्क स्थापनाको पैँतीऔँ वर्ष ः १९औँ शिखर सम्मेलन अन्योलमा
दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५औँ वार्षिकोत्सव मनाउँदैछ ।

सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी शुरु सार्कको यात्रा भएको हो । सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्र÷सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जियाउल हक र श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवद्र्धने हुनुहुन्थ्यो ।

आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एशियाका आठ मुलुकको साझा सङ्गठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौँ सदस्य राष्ट्र बनेको हो ।

दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन । आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन । सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एशियाली विश्वविद्यालयलगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ ।

मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृति सहयोगका क्षेत्रमा सार्कले काम गरिरहेको छ । क्षेत्रीय सहयोग प्रवद्र्धन र सदृढीकरणका लागि सार्कमा विषयगत क्षेत्रीय केन्द्रहरु कृषि केन्द्र (ढाका), ऊर्जा केन्द्र (इस्लामावाद), सांस्कृतिक केन्द्र (कोलम्बो), क्षयरोग तथा एचआइभी÷एड्स केन्द्र (काठमाडांँै), विपद् व्यवस्थापन केन्द्र (नयाँ दिल्ली) स्थापना गरिएका छन् ।
पँैतिसौँ वार्षिकोत्सवका अवसरमा शुभकामना

सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३५औँ वार्षिकोत्सवका अवसरमा बङ्गलादेशका परराष्ट्रन्त्री डा ए के अब्दुल मोमेनले बङ्गलादेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सार्क शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत सार्कले स्थापनाको तीन दशकभन्दा लामो उतारचढाव यात्रामा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ । यद्यपि, अपेक्षा र सम्भावनाको स्तरमा भने उक्त उपलब्धि न्यून रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री मोमेनले सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग, सम्मान र प्रतिबद्धताले इच्छित उद्देश्य हासिल हुने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी सार्कका महासचिव अमजद हुसैन बी सियालले शुभकामना सन्देशमार्फत यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने स्थापित सार्क प्राथमिकताका सहयोगका क्षेत्र प्रवद्र्धन गर्न स्थिर प्रगतिमा रहेको उल्लेख गर्नुभएको छ । विभिन्न सम्झौतामार्फत यस क्षेत्रमा आर्थिक, क्षेत्रीय र जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यमा उपलब्धि हासिल भएको उहाँले उल्लेख गर्नुभएको छ ।

सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई संवद्र्धन र विस्तार गर्ने उद्देश्य लिएकोे छ । पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकासशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्रा्ष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई पनि बडापत्रले प्राथमिकता दिएको छ ।

उन्नाइसौँ शिखर सम्मेलन अन्योलमा

विसं २०७१ मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनमा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको थियो । भारत र पाकिस्तानबीचको आपसी मनमुटावका कारण १९औँ शिखर सम्मेलन अझै हुने निश्चित भइसकेको छैन । शिखर सम्मेलन आयोजनामा विलम्ब भए पनि मन्त्रीस्तरीय बैठक भने भइरहेका छन् । बडापत्रको धारा ३ मा राष्ट्र÷सरकार प्रमुखको बैठक वर्षमा एकपटक वा सदस्य राष्ट्रहरुले आवश्यक ठानेमा यसभन्दा बढी पटक बस्ने उल्लेख छ ।

सार्कका सदस्य देशहरू आपसी विवादमा नपरी द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिलाबाट अलग रहने भन्ने यसको बडापत्रमा उल्लेख छ । साथै सदस्य राष्ट्रका राष्ट्र÷सरकारप्रमुखबीच हुने शिखर सम्मेलनमा पनि कुनै राष्ट्रले भाग नलिए त्यस्तो सम्मेलन हुन नसक्ने व्यवस्था बडापत्रमा उल्लेख छ । यी संवैधानिक कमजोरीका कारण सार्क शिखर सम्मेलन सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखहरुसँगै भेला हुने एक औपचारिक समारोहमात्र बन्न पुगेको भनेर आलोचना गर्नेहरु पनि नभएका होइनन् ।

यसका बाबजुद सार्कको दक्षिण एशियाली पहिचानलाई शीर्षनेताको ‘रिट्रिट’ले आपसी मनोमालिन्य र कटुतालाई मैत्रीमा परिणत गर्ने गरेको छ भने विपद्का बेला आपत्कालीन सहयोग गर्ने परम्परा पनि बढेको छ । बितेका ३४ वर्षमा सार्कले सुखदुःखका बेला सदस्य राष्ट्रलाई एकअर्कालाई नजीकमात्र ल्याएन कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा सह्रानीय काम पनि गरेको छ ।

सार्क सम्मेलन कहिले कहाँ ?

सार्कको पहिलो शिखर सम्मेलन ७–८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा, दोस्रो १६–१७ नोभेम्बर १९८६ मा भारतको बेङ्गलोरमा, तेस्रो २–४ नोभेम्बर १९८७ मा नेपालको काठमाडौँमा, चौथो २९–३१ डिसेम्बर १९८८ मा पाकिस्तानको इस्लामावादमा, पाँचाँै २१–२३ नोभेम्बर १९९० मा माल्दिभ्सको मालेमा, छैटौँ २१ डिसेम्बर १९९१ मा श्रीलङ्काको कोलम्बोमा, सातौँ १०–११ अप्रिल १९९३ मा बङ्गलादेशको ढाकामा, आठौँ २–४ मे १९९५ मा भारतको नयाँ दिल्लीमा र नवौँ १२–१४ मे १९९७ मा माल्दिभ्सको मालेमा सम्पन्न भएको थियो ।

यसैगरी सार्कको दशौँ शिखर सम्मेलन २९–३१ जुलाई १९९८ मा श्रीलङ्काको कोलम्बोमा, एघारौँ ४–६ जनवरी २००२ मा नेपालको काठमाडौँमा, बाह्रौँ २–६ जनवरी २००४ पाकिस्तानको इस्लामावादमा, तेह्रौँ १२–१३ नोभेम्बर २००५ मा बङ्गलादेशको ढाकामा, चौधौँ ३–४ अप्रिल २००७ मा भारतको नयाँ दिल्लीमा, पन्ध्रौँ १–३ अगस्त २००८ मा श्रीलङ्काको कोलम्बोमा, सोह्रौँ २८–२९ अप्रिल २०१० मा भूटानको थिम्पूमा, सत्रौँ १०–११ नोभेम्बर २०११ मा माल्दिभ्सको अड्डुमा र अठारौँ २६–२७ नोभेम्बर २०१४ मा नेपालको काठमाडौँमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ०९ बजे