२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘नेपाल भ्रमण वर्ष २०२०’ सफल जुट्दै काठमाडौं नगर


१४ पुस २०७६, सोमबार  

0
Shares

१४ पुस ०७६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् ।
हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ । काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ ।
प्रमुख शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसक्नुभएको छ ।
इन्द्रजात्रा अवलोकनले भ्रमण वर्षलाई सहयोग
पहिलो पटक कामपाले गत भदौ अन्तिम साता भएको इन्द्रजात्राको अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको थियो । एघार देशका ४१ पहुनाले इन्द्रजात्राको मात्रै अवलोकन नगरी काठमाडौँ उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकाले भ्रमण वर्षलाई थप सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।
उक्त समयमा पाहुनाले हनुमानढोका क्षेत्रमा रहेका सम्पदा, पशुपति मन्दिर, चन्द्रागिरि, पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका थिए । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भूटान र जापानका ११ शहरबाट ४१ पहुना आएका थिए । उक्त समयमा अवलोकन गरेका पाहुनाले पुनः नेपाल भ्रमणको लागि आउने बताएका थिए ।
भ्रमण वर्षको औपचारिक शुरुआत
सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ४६ बजे