९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोकप्रिय नारासहित गोदावरीको नगरसभा


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाकी उपप्रमुख मुना अधिकारी ।

२ फागुन ०७६, चापागाँउ । मध्यललितपुरको गोदावरी नगरले लोकप्रिय नाराअघि सार्दै छैटौं नगरसभा सम्पन्न गरेको छ ।
नगरपालिकाले “कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरी नगरलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूलनारा तय गरेको हो ।
नगरपालिका उपप्रमुख मुना अधिकारीद्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा समृद्ध नगरपालिका बनाउने योजना अघि सारिएको छ । नीति तथा कार्यक्रममा दीर्घकालीन उद्देश्य अनुरुप नगरपालिकाको आर्थिक सामाजिक विकासलाई अघि बढाउन आन्तरिक स्रोत परिचालन, नगरवासीको प्रतिव्यक्ति आयमा वृद्धि, आधारभूत स्वास्थ्य शिक्षाको प्रत्याभूति, स्वच्छ खानेपानी र सुरक्षित आवास कार्यक्रमलाई साथ साथै अघि बढाउने उल्लेख छ ।
उपप्रमुख अधिकारीले चालू आवमा नगरस्तरीय र वडास्तरीय गरी जम्मा ६९७ योजना तथा कार्यक्रम रहेकोमा हालसम्म भौतिक निर्माणतर्फ उपभोक्ता समितिमार्फत १०६ योजना मात्रै सम्झौता भई सञ्चालन भएको जानकारी दिनु भएको छ । बोलपत्र तथा कोटेशनमार्फत ११ योजना सञ्चालन भइरहेको, १४ कार्ययोजना सम्पन्न भइसकेको र सङ्घ र प्रदेशतर्फ तीन योजना सम्झौता भएको बताउनुभयो ।
नगर सभाले सातवटा ऐन समेत पारित गर्दै चालु आर्थिक वर्ष २०७६÷७७ को छैठौँ नगरसभा सम्पन्न गरेको छ ।
पारित भएका ऐनमा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७६, गोदावरी नगरपालिका नगरप्रहरी ऐन– २०७६, नगरप्रहरी सञ्चालन तथा व्यवस्थापन कार्य्विधि– २०७६, स्थानीय वन ऐन–२०७६, बाल संरक्षण नीति (ऐन)–२०७६, बाल समूह गठन निर्दे्शिका र कार्य्विधि–२०७६ र कर्मचारी व्यवस्थापन(सेवा शर्त) सम्बन्धी ऐन–२०७६ रहेका छन् ।

यसैगरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनभावना क्याम्पसलाई मार्वल राख्ने कार्यको लागि रु १० लाख उपलब्ध गराउने र नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको कार्यालय सिलसिलामा हुनसक्ने दुर्घटनाको मध्यनजर गर्दै प्रतिव्यक्ति रु पाँच लाख दुर्घटना बीमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाका विषयगत शाखा बाहेकका कर्मचारीले खाइपाइ आएको प्रोत्साहन भत्ता फागुन १ गतेदेखि लागू हुनेगरी सबै विषयगत शाखाका कर्मचारीलाई समेत शुरु तलब स्केलको ३० प्रतिशतले प्रोत्साहन भत्ता उपलब्ध गराउने र नगरपालिका क्षेत्रभित्रको ढल तथा राजकुलो सरसफाइको लागि नौ जना ढल पाले करार नियुक्ति गरी प्रत्येकलाई मासिक रु १५ हजारका दरले सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौँ ।”
गोदावरीले रु दुई करोड रकम खर्च गरी बस खरिद गर्ने तथा रु ५० हजार लिएर निजी आवास निर्माण गर्न नसकेका जनताको समस्या विचार गरी ३०० स्क्वायरसम्मको घरका लागि नगरपालिकाले बिना शुल्क नक्शापास गरिदिने र गोरखा भूकम्पपछि घर नभएर बस्न समस्या भोगिरहेका जनतालाई दुई कोठाको घर बनाउन दुई जना प्राविधिक पठाइदिने निर्णय पनि गरेको नगरप्रमुख महर्जनले बताउनुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : १४ बजे