९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चोभार–खोकना–चापागाउँ विद्युत् प्रशारण लाइन बनाउन सहमति


२ चैत्र २०७६, आइतबार  

0
Shares

गतबर्ष विद्युत प्रशारण लाइन निर्माणका क्रममा खोकनामा गाडिएको टावर ढालेपछि । फाइल तस्विर ः ललितपुर खबर

२ चैत्र ०७६, काठमाडौं । दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज छलफल भएको छ ।

ललितपुरको खोकना र चापागाउँवासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुरमा विद्युत् पु¥याउने योजना अघि सारेको हो । सबस्टेशन निर्माणका लागि आवश्यक जमीन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन । उद्योग मन्त्रालयले सबस्टेशन निर्माणका लागि चोभारमा आवश्यक जमीन उपलब्ध गराउने भएको छ ।

छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सबस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । सो स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमीन सुक्खा बन्दरगाह निर्माणका लागि उपलब्ध गराएको थियो । उद्योग मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ ।

सबस्टेशन निर्माणका लागि कति जमीन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सबस्टेशन निर्माणस्थलमै गएर जमीनबारे अन्तिम टुङ्गो लगाउन सहमत हुनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्याल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योग मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, सहसचिव एवं सुक्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवजराज ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ३१ बजे