१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रानीपोखरीको पिँध र पर्खालको काम सकियो


१४ असार २०७७, आइतबार  

0
Shares

पुर्ननिर्माणको क्रममा रानीपोखरी । तस्रि ः ललितपुर खबर

१४ असार ०७७,काठमाडौं । रानीपोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पाँच वर्षअघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनःनिर्माणअन्तर्गत उपभोक्ता समितिमार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले प्राधिकरणलाई सोमबार जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताउनुभयो ।

विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो । गत वैशाख १२ गते गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिनअगावै यो कामसक्ने तालिका भए पनि कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण प्रभावित भएको थियो ।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशे पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्न प्राथमिकता दिने तयारी भएको बताउनुभयो । पानी नपुग भएमा भूमिगत स्रोतबाट राख्ने व्यवस्था मिलाउने जानकारी पनि उहाँले दिनुभयो ।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनःनिर्माण हेरिरहनुभएका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणले अघि सारेको छ । रानीपोखरीको पिँध पुनःनिर्माणका लागि शुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो । पछि सीप हस्तान्तरण गरी काठमाडौँका कालीगढ पनि सहभागी भएका थिए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ । यी काम सिए÷तुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ । ठेक्काको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिनुभयो । बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यकपर्ने सबै सहजीकरण गरिरहेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ३६ बजे