१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरा हुँदै


१४ आश्विन २०७७, बुधबार  

0
Shares


१४ असोज ०७७, गोदावरी । गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा यो केन्द्र निर्माण गरिरहेको छ ।
विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताएका छन् । भट्टले भने, “गत वर्षको चैत महिनाभित्र यस भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र बेलाबेलामा पानी परेर बिहान अनि बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौँ ।”
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गतवर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न नपाएको र विगतमा २ सय कामदारले काम गरेको सो स्थानमा हाल केवल ८० जना मात्र खटिएका भट्टले जानकारी दिए । “केन्द्रको भवन निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भयो बाँकी रहेको ३० प्रतिशत काममा सीमा पर्खाल, प्लास्टर, रङरोगन, एसी र आवश्यक सामान फिट गर्नु छ”, भट्टले थपे, “सरकारले महामारीका कारण केन्द्र निर्माणमा छ महिनाको समय थप गरेर आउँदो कात्तिकसम्म सम्पूर्ण काम गरिसक्नुपर्ने भनिए पनि माघको अन्तिमसम्ममा मात्र काम सक्ने भएका छाँै ।”
केन्द्रको भवन निर्माण गर्न शुरु गरेको त्यस समयमा आकाशे पानीले मुख्य समस्या पारेर कयौँ दिनसम्म हिँड्न र सवारी साधनमा सामान ढुवानी गर्नसमेत असहज भएको विभागका निर्माण आयोजना समन्वय कार्यालयका साइट इञ्जीनियर विकास खनालले बताए । खनालले भने, “केन्द्रमा जडान गर्न आवश्यक कुर्चीमध्ये केवल एक हजार ८२५ आइपुग्यो भने अन्य सीमा नाकामा रोकिएर यहाँ आइपुग्न बाँकी नै छ ।” केन्द्रमा विभिन्न सामान जडान र एसी हाल्न भारतबाट दक्ष जनशक्ति मगाउनुपर्ने हुँदा काममा ढिलाइ भइरहेको खनालले दुःख मनाउ गरे ।
“पच्चीस रोपनी क्षेत्रफल ६० हजार वर्गफिटमा फैैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि रहने छ”, उनले भने ।
मुलुकमा लामो समय लकडाउन नभएको भए केन्द्र निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसक्ने जेभी साइटका प्रमुख इञ्जीनियर राकेश यादवले बताए । उनले भने, “आउँदो दशँैअघि भवनको सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छाँै ।” केन्द्रमा अब फिनिसिङको काम धमाधम अघि बढाइने यादवले जानकारी दिए ।
सम्मेलन केन्द्र निर्माणका लागिरु ६५ करोड ८१ लाख ६५ हजार ४ सय ५९ मा निर्माण सम्पन्न गर्न ठेक्का लिएको जेभीका अर्का इञ्जीनियर पवन मैनालीले बताए । मैनालीले भने, “विसं २०७६ को अन्त्यसम्ममा भवन निर्माणको काम समाप्त गरिसक्नुपर्ने थियो । हामीले विभिन्न समस्याका कारण समयमै गर्न सकेनौैैँ ।”
यस केन्द्र निर्माण सम्पन्नपश्चात गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने छ । सो केन्द्रमा सभासम्मेलन गर्दा अब काठमाडौँ उपत्यकावासीले होटलमा जस्तो महङ्गो खर्च गर्नु पर्दैन । तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तत्काल निर्माण सम्पन्न हुनु मुलुककै लागि एक खुशी र गौरवको विषय पनि बन्ने छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : २० बजे