१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा झण्डै दश हजार कोरोना सङ्क्रमित


१७ आश्विन २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

१७ असोज ०७७, काठमाडौं । काठमाडौँ महानगरपालिकामा मात्रै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८ सय २५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८ सय ७१ सङ्क्रमित भएका छन् ।
वडा नं ३, ११, १३, १६ मा पनि ५ सय बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिएका छन् । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९ सय ९० रहेको छ । अस्पतालमा उपचार गराइरहेका ५ सय ७२, संस्थागत आइसोलेसनमा ५ सय ८३ रहेका छन् । पाँच हजार ५ सय ९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।
सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ । उनीहरुमध्ये ५ सय २० जनाको निधन भएको छ भने ६० हजार ६ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ११ हजार ७ सय ६० होम आइसोलेसनमा छन् । नौ हजार ४ सय ७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २ सय १० आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ०४ बजे