४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा


२६ कार्तिक २०७७, बुधबार  

0
Shares

  भक्तपुरस्थित खरीपाटी आइसोलेशन केन्द्र

२६ कात्तिक ०७७, भक्तपुर ः भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् ।
कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन् । भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८७१ श्यया छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन् ।
भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १ सय ३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २ सय शैयाको आइसोलेसन केन्द्र छ ।
समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ श्ययाको आइसोलेसन केन्द्र रहेको छ ।
तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष सङ्क्रमित उपचाररत छन् ।
नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ सङ्क्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी शैया खाली छन् ।
सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ । शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन् । दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताएका छन् ।
“सङ्क्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा सङ्क्रमितलाई नै थाहा होला । सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होला”, उनले भने । होम आइसोलेसनमा बसे पनि सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिइरहेको मिजारले बताए । उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको जानकारी लिइरहेको जानकारी दिए । “घरमै बसेका सङ्क्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्नेबारे स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मीमार्फत ‘फलोअप’ गरेर आवश्यक उपचार दिइरहनुका साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उहाँहरुले जिम्मा लिएर गरिरहेको अवस्था छ ।” उनले भने ।
भक्तपुरमा आइसियु र भेन्टिलेटरसमेत खाली रहेका छन् । जिल्लामा १९ वटा आइसियु श्यया छन् तीमध्ये छ वटामात्र भरिएका छन्, बाँकी १३ वटा खाली छन् । जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियु श्यया भए पनि यहाँ तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियु श्ययामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ । बाँकी आइसियु शैया खाली रहेको छ । केएमसी अस्पतालमा सात आइसियु शैया कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै शैया खाली रहेको मिजारले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोरोनाका बिरामीका लागि छुट्याइएको छ तर तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ । यहाँ एक महिला र एक पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।