८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरमा नेवारी संस्कृतीको पाठ्यपुस्तक पढाइने


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मंसिर ०७७, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पढाउनका लागि नेवारी सस्कृतीमा आधारित स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा पढाइने यो पुस्तकको नाम ‘येँ देय् म्हसीके’ रहेको छ ।
आगामी शैक्षिक सत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५ सय ४१ संस्थागत विद्यालयमा अनिवार्य लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । अब यी सबै विद्यालयमा १ सय पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययनअध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ्यपुस्तक तयार गरेको हो ।
कामपा शिक्षा विभागका अधिकृत मोती खनालका अनुसार गएको वैशाख–जेठदेखि तयारी शुरु गरिएको थियो । कोरोना र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको थियो । “पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय समेटिएका छन् ।
प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय पनि समेटिएका छन् । अहिले कक्षा १ का लागि पाठ्यपुस्तक तयार भइसकेको छ । कक्षा २ देखि कक्षा ८ सम्मका पुस्तक डिजाइनका चरणमा छन् । पूर्ण रूपमा रङ्गीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सक्ने शैलीमा लेखिएको छ । पुस्तकमा नेपालभाषाका शब्द र पदावलीको अर्थ नेपाली भाषामै लेखिएको छ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार ७ सय ९१ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी पठाउने तयारी कामपाको रहेको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : १० बजे