११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिस्केट जात्रा स्थगित, सेतो मच्छेन्द्रनाथ रथयात्रामा स्वास्थ्य मापदण्ड अपनाइने




२३ चैत ०७७, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढेको भन्दै भक्तपुरमा नयाँ वर्षको समयमा मनाइने बिस्केट जात्रा स्थगित भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो।
यसअघिको बैठकले अन्य जात्रा रोक्ने निर्णय गरे पनि बिस्केटबारे कुनै निर्णय गरेको थिएन। बैठकले दैनिक रुपमा जोखिम बढेको भन्दै यस वर्ष जात्रा नगर्ने निर्णय गरेको हो। कोरोनाका कारण गतवर्ष पनि जात्रा रोकिएको थियो।
भिडका कारण संक्रमण फैलिन गई भयावह अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्केट जात्रा रोक्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
यसैबीच कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ ।
गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर आज सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले बताए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
तीनधारा पाठशाला अघिको मूल सडकमा चैत्र शुक्ल प्रतिपदादेखि रथ निर्माण शुरु हुन्छ । अष्टमीका दिन बिहान सेतो मच्छेन्द्रनाथको खट मच्छेन्द्रबहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा पहिलो दिन असनमा लगी राखिन्छ । राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

यस वर्ष वैशाख ७ गतेदेखि रथयात्रा शुरु हुने समितिको संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष शाक्यले बताउनुभयो । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको उनले बताए ।

 

 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ४० बजे