१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा माधव नेपाल पक्षको जिल्ला कमिटी गठन




६ वैशाख ०७७,काभ्रे । नेकपा एमाले माधव नेपाल पक्षले काभ्रेमा जिल्ला कमिटी गठन गरेको छ । पार्टीका अनुसार माधव नेपाल पक्षले काभ्रेपलाञ्चोकमा टोकबहादुर वाइबाको अध्यक्षमा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा वसुन्धरा हुमागाई र सचिव दिपक गौतमलगायत २ सय १ जनाको जिल्ला कमिटी पुनःगठन गरेको हो । नेपाल पक्षले जिल्लाका सबै पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसम्मको नेतृत्व चयन, जनवर्गीय सङ्गठन र मोर्चासमेत गठन गरी अगाडि बढेको घोषणा गरेको छ ।
पार्टी जोगाउन र आन्दोलन जिताउन अभियान ः नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आइतबार बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा नेपालले पार्टी नेतृत्व नीति, सिद्धान्त र विचारबाट नभई व्यक्तिगत ढङ्गले चलेको आरोप लगाए ।
अहिले पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि नै आफूले निरन्तर सङ्घर्ष गरिरहेको र पार्टीका नेता तथा कार्यकर्तालाई आदर्श, सिद्धान्त, नीतिका पक्षमा लाग्नका लागि आग्रह गरिरहेको उनले बताएका थिए । “कम्युनिष्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति प्रधान होइन”, उनले भने, “जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ ।”

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले सिद्धान्तबिनाको कम्युनिष्ट पार्टी चलाउन खोजिरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्रलाई धरापमा पारेर अगाडि बढ्न खोजिरहेको बताइन् । उनले जिम्मेवारी बाँडफाँट, जिल्ला कमिटीको घोषणा, पालिकासम्मको कमिटी घोषणा भएकालाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सबै तहका नेता कार्यकर्तालाई जवाफदेही र जिम्मेवारीका साथ आफ्नो क्षमताअनुसार लाग्न निर्देशन दिइन् ।
कार्यक्रममा एमालेका नेता कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईंले पार्टीलाई सुदृढीकरणको अभियानमा सबै तह र तप्कालाई विचार, नीति, सिद्धान्तमा प्रतिबद्धताका साथ लाग्न आग्रह गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।