१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना सर्तकतासँगै शुरु भयो सेतो मच्छेन्द्रनाथको रथयात्रा



वर्षा र सहकालकका देवता मानिने सेतो मच्छिन्द्रनाथको जात्रा मङगलबार घण्टाघरबाट तान्दै । तस्वीर : रोशन सापकोटा/रासस

७ वैशाख ०७७, काठमाडौं । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो ।
वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

वर्षा र सहकालकका देवता मानिने सेतो मच्छिन्द्रनाथको जात्रा मङगलबार घण्टाघरमा रथमा सेतो मच्छिन्द्रनाथको देवता राख्दै । तस्वीर : रोशन सापकोटा\रासस

एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।
रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए । अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । पहिलो दिन आज रथ असनमा लगि राखिन्छ ।
राष्ट्रपतिले दर्शन गर्ने

असनमा आज राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका २५ का अध्यक्षसमेत रहेका समिति संयोजक शाक्यले बताए ।
सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहजरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले बताए । रथयात्रा चलाउने मार्गमा एक घण्टाअघि नै माइकिङ गरेर सुरक्षितरुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गरिएको छ । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुनपानीले हात धुन पनि समितिले अनुरोध गरेको छ । यसका लागि रथयात्रा शुरु र अन्त्य गरिने स्थानमा प्रत्येक दिन साबुनपानीको व्यवस्था गरिएको छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : १५ बजे