१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स




९ वैशाख ०७८, गोकर्ण । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिएका छन् ।
दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन पनि उनले नगरवासीमा आह्वान गरेका हुन् ।
भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नगरपालिकाले आह्वान गरेको छ । स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै कोरोना पोजेटिभ भई स्वास्थ्य जटिलता आएर अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स चालक अर्जुन श्रेष्ठको मोबाइल नं ९८४३०९५४४५ मा सम्पर्क गर्न नगर प्रमुख चालिसेले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाको सङ्क्रमण पुनः फैलन थालेपछि नगरपालिकाले चालू शैक्षिक सत्रको अन्तिम परीक्षा यही वैशाख १६ गतेदेखि गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधबार सामुदायिक एवं संस्थागत विद्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ०८ बजे